दक्षिण ललितपुर विद्युतीकरणको २५ वर्षे यात्रालाई स्मारिकामा दस्तावेजीकरण गरिँदै

दक्षिण ललितपुर विद्युतीकरणको २५ वर्षे यात्रालाई स्मारिकामा दस्तावेजीकरण गरिँदै

बालकृष्ण बजगाईं - २०८२-०९-२१

२०८२ पौष २१, ललितपुर
दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ। ग्रामीण विद्युतीकरण अभियानका रूपमा २०५४ सालमा स्थापना भई २०५७ साल साउन १७ गते दर्ता भएको यो सहकारी नेपालकै पहिलो विद्युत सहकारी हो।
सहकारीले दक्षिण ललितपुरका महाङ्काल, कोञ्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका वडा नम्बर ७ सहित १९ वटा वडालाई समेटेर विद्युतीकरण अभियान सुरु गरेको थियो। रजत जयन्तीको अवसरलाई रचनात्मक, प्रभावकारी र व्यावहारिक बनाउने उद्देश्यले स्मारक प्रकाशनको तयारी गर्दै सहकारीले पत्रकारहरूसँग छलफल कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्द प्रसाद बजगाईंले जिल्लाको करिब दुईतिहाइ भूभाग समेट्ने दक्षिण ललितपुरलाई चिनाउने दस्तावेजका रूपमा स्मारिका निर्माण गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्मारिकाले दक्षिण ललितपुरको विद्युतीकरण इतिहास, वर्तमान अवस्था र भविष्यका सम्भावनालाई समेट्नेछ।
कार्यक्रमको सुरुवात गर्दै सहकारीका सचिव लोकबहादुर पुलामी (दीपक)ले पत्रकार भेटघाटको औचित्यमाथि प्रकाश पार्दै स्मारिकालाई तथ्यपरक, उपयोगी र सन्दर्भ सामग्रीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। आगामी चैत महिनासम्म स्मारिका प्रकाशन गर्ने र त्यसको डिजिटल संस्करण पनि तयार गर्ने योजना रहेको जनाइएको छ।
छलफलमा सहभागी पत्रकारहरूले स्मारिकालाई अनुसन्धान तथा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिने गरी तथ्य, तथ्यांक र विश्लेषणमा आधारित सामग्री समेट्न सुझाव दिएका थिए। विशेषगरी विद्युतीकरणले दक्षिण ललितपुरमा पारेको सकारात्मक प्रभाव, उपलब्धि र अझ सुधार गर्नुपर्ने पक्षलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको थियो।
अध्यक्ष बजगाईंले विद्युतीकरणसँगै त्यसको प्रभावकारी व्यवस्थापन अबको प्रमुख कार्यदिशा भएको उल्लेख गर्नुभयो। बत्ती नपुग्दा मानिस बसोबास गर्ने धेरै घरहरू बिजुली पुगेपछि खाली हुन थालेको उदाहरण प्रस्तुत गर्दै उहाँले त्यसको न्यूनीकरणका लागि सहकारीले निर्वाह गर्न सक्ने भूमिका के–कस्ता हुन सक्छन् भन्ने जस्ता व्यावहारिक र महत्वपूर्ण प्रश्नहरूको समाधान खोज्न आवश्यक रहेको बताउनुभयो।
रजत उत्सवको अवसरमा प्रकाशन गरिने स्मारिकाले दक्षिण ललितपुरको समग्र विकासमा विद्युतीकरणको भूमिकालाई दस्तावेजीकरण गर्दै भावी नीति निर्माण र अध्ययनका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

not-found

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

0 Comments