२०८२ मंसिर २२ सोमबार
काभ्रेपलाञ्चोक- काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (पहिलो चरण) को यही मंसिर २४ गते, बुधबार, २८ किलो धुलिखेलस्थित केन्द्रीय परिसरमा हुने भएको छ। समारोह बिहान ११ बजे सुरु हुने विश्वविद्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा कुलपति सुशीला काकीको अध्यक्षतामा हुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन विशेष उपस्थित रहनेछन्। भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का कुलपति प्रा. सान्तीश्री धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा दीक्षान्त सम्बोधन गर्नेछन् ।
कार्यक्रम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्नेछन् भने उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनेछन्।
यस वर्ष विभिन्न स्कूलबाट २,२०९ विद्यार्थी दीक्षित हुँदैछन्। तीमध्ये ८८१ जना मेडिकल साइन्सेज स्कुलका छन्। कुल दीक्षितमध्ये १,१५४ पुरुष र १,०५५ महिला रहेका छन्। साथै १७ देशका १९६ अन्तर्राष्ट्रिय विद्यार्थीले पनि उपाधि प्राप्त गर्नेछन्।
विश्वविद्यालयले यसपटक पहिलोपटक MPhil by Research in Mathematics, Bachelor of Science in Agriculture, र Master of Medical Research कार्यक्रमबाट पनि उपाधि प्रदान गर्दैछ।
दीक्षान्तसहित अहिलेसम्म विश्वविद्यालयबाट दीक्षित विद्यार्थीको संख्या ५०,०४० पुगेको विश्वविद्यालयले जनाएको छ, जसमा ५,८६० विदेशी विद्यार्थी रहेका छन्। समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई स्वर्णपदक प्रदान गरिनेछ।यस वर्ष चान्सलर स्वर्णपदक Ms. Maite Castellano Menchacaले प्राप्त गर्दैछिन्। MBBS तर्फ नोबेल मेडिकल कलेजका गौरव सिंह साउद सर्वोत्कृष्ट घोषित भएका छन्। MBA कार्यक्रममा अरुणा बुढाथोकी र सौगत दंगालले संयुक्त रूपमा स्वर्णपदक प्राप्त गर्नेछन् । त्यसैगरी, MBBS श्रेणीमा लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी उत्कृष्ट ठहरिएकी छन्। उनले स्नातक तहमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने छात्रा विद्यार्थी हुन् । त्यसैगरि BBM–LL.B कार्यक्रमको उत्कृष्टतामा आन्सा रेग्मी विभूषित हुनेछिन् ।
विश्वविद्यालयका प्रवक्ता डा. उदय प्याकुरेलका अनुसार स्वर्णपदक तथा उपाधि वितरण समारोहकै मुख्य आकर्षण रहनेछ।

0 Comments