धुलिखेल । २०८२ साल साउन १ गतेदेखि स्वास्थ्य बीमा लाभ लिने सेवाग्राहीका लागि नयाँ प्रणाली लागू हुने भएको छ । बीमा बोर्डद्वारा सरकारी स्वास्थ्य संस्थालाई मात्र प्रथम बिन्दुको मान्यता दिने निर्णय गरेसँगै यो प्रावधान व्यवहार संगत नहुने भन्दै यसको आलोचना भइरहेको छ । सँगै जुन क्षेत्रको बिरामी भएतापनि देशभरका जुनसुकै प्रथम सेवा बिन्दुबाट स्वास्थ्य सेवा लिन सक्ने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । विगतमा बिमितले तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिन पाउने प्रावधान रहेको थियो ।
काभ्रेपलाञ्चोक जिल्लामा निर्धारण गरिएको प्रमुख सेवा बिन्दु धुलिखेल सामुदायिक अस्पतालले एक वर्षमा ३ लाख हाराहारीमा बिरामीहरूलाई स्वास्थ्य बिमा मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालले चालु आर्थिक वर्षको ६९ करोड रूपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी अस्पतालका निर्देशक डा. बलराम मल्लले दिए। उनले स्वास्थ्य बीमा बोर्डले रकम नतिरे पनि सेवामा अवरोध नआएको स्पष्ट गरे। डा. मल्लले भने, "हामीले सरकारको नीति नमानेको भनेका छैनौं, तर साउन १ गतेदेखि अस्पतालले प्रथम सेवा बिन्दु भएर सेवा दिन नपाउने पत्र प्राप्त भएको छ।"
२०७६ सालदेखि सञ्चालनमा आएको सरकारी स्वास्थ्य बीमा कार्यक्रममा धुलिखेल अस्पताल सुरु देखिनै सहकार्य गर्दै काभ्रे तथा आसपासका जिल्लाका बासिन्दालाई सेवा दिँदै आएको छ । बीमा बोर्डले अब काभ्रेपलाञ्चोक जिल्लाका लागि मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी, पनौती र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दुको रूपमा निर्धारण गरेको छ।
कुनैपनि रोग लागेर धुलिखेल अस्पतालमा आउनका लागि सम्बन्धित स्वास्थ्य संस्थाबाट रजिष्टार्ड चिकित्सकको प्रेषण पूर्जी अनिवार्य गरिएको छ ।
बनेपा नगरपालिका धेरै जनसंख्या भएको क्षेत्र भए पनि त्यहाँ सेवा केन्द्र नहुनु र पनौती वा धुलिखेलबाट सिफारिस (रेफरल) लिनुपर्ने अवस्थाले सेवाग्राहीलाई असहज बनाएको छ। महाभारत, खानीखोला, तेमाल, रोशी, पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली लगायतका पालिकाका बासिन्दाले पनि पनौती, धुलिखेल वा मेथिनकोट पुगेर मात्र सिफारिस लिनुपर्ने हुन्छ । यस प्रकारको अवस्था सिर्जना हुँदा अत्यावश्यक सेवा लिन इच्छुक बिरामीहरू मर्कामा पर्ने देखिएको छ ।
२०८२ असार १० गते बीमा बोर्डले जारी गरेको पत्रअनुसार साउन १ गतेदेखि धुलिखेल अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा लिन इच्छुक बीमितले आफ्नै नजिकको तोकिएको सरकारी सेवा केन्द्रबाट अनिवार्य रूपमा सिफारिस पत्र लिएर आउनु पर्ने अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिए ।
एक पटकको सिफारिसपत्र केवल सो समयमा भएको स्वास्थ्य समस्याका लागि मात्र मान्य हुने छ। यद्यपि बीमा बोर्डद्वारा २०७९ भदौ ७ मा पठाइएको पत्रअनुसार दीर्घरोगीको स्वास्थ्य उपचारको लागि भने पटक पटक प्रेषण पुर्जी आवश्यक नपर्ने बताइएको छ । क्यान्सर, मिर्गौला प्रत्यारोपण (फलोअप र डायलाइसिस), हेड र स्पाइनल इन्ज्युरी, सिकलसेल एनिमिया, अल्जाइमर, पार्किन्सन्स, मुटु रोग, ७० वर्ष माथिका नागरिक, अति अपाङ्ग, एचआईभी, जटिल क्षयरोग, गर्भवती तथा सुत्केरी महिला, गम्भीर मानसिक रोग भएका दीर्घरोगीहरूलाई भने एक पटक सिफारिसपत्र लिएपछि क्लेम नम्बरको आधारमा बिरामी प्रमाणीकरण गरि उपचार तथा फलोअप गराउन सकिने जनाइएको छ ।
तपाईको स्वास्थ्य हाम्रो अठोट भनेर स्वास्थ्य बिमाको महत्वपूर्ण कार्यक्रम अगाडि सारेको सरकारले ल्याएको प्रावधानबाट एमर्जेन्सी बिरामीलाई भनेर पुर्जा आवश्यक नपर्ने भएपनि अन्य बिरामीहरूलाई भने प्रेषण पत्र प्राप्त गरेर अस्पताल आउनुपर्ने हुँदा प्रक्रिया झण्झटपूर्ण हुने देखिएको छ ।
काभ्रेमा प्रादेशिक अस्पतालन मेथिनकोट भन्दा बाहेक अन्य सरकारी स्वास्थ्य संस्थामा सीमित स्रोत, उपकरण र जनशक्ति हुँदा रेेफरलको लागि मात्रै पनि चाप बढेर बिरामीको यथोचित सम्बोधन हुन नसक्ने हो कि भन्ने चिन्ता समेत थपिएको छ । अहिलेकै परिस्थितिमा सरवा बढाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड काभ्रेपलाञ्चोक कार्यालय प्रमुख मुना निरौलाले स्वास्थ्य बिमा मार्फत काभ्रेमा हालसम्म १ लाख ९८ हजार ६ सय ६१ जना बिमित भइसकेको जानकारी दिएकी छिन ।

0 Comments