काभ्रेपलाञ्चोक प्रशासनको वार्षिक प्रगति विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक प्रशासनको वार्षिक प्रगति विवरण सार्वजनिक

नमनखबर डेस्क - २०८२-०३-२६

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा सम्पन्न भएका विविध प्रशासनिक कार्य, सेवा प्रवाह, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका गतिविधिबारे संचारकर्मीहरूसँग जानकारी प्रस्तुत गरेको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नावालक परिचयपत्र, संघ संस्था, हतियार इजाजत, मुद्दा व्यवस्थापन र विपद् नियन्त्रणका विषयमा विस्तृत जानकारी दिएका थिए। उनले असोज १० देखि १२ गतेसम्म भएको विपद् र त्यसपछिका क्षतिको विवरण प्रस्तुत गर्दै आगामी दिनमा अपनाइने तयारी र योजनाबारे समेत अवगत गराए।

त्यसै कार्यक्रममा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई नागरिकता सम्बन्धी कानुनी पक्षमा अभिमुखीकरण गराएकी थिइन्। उनले नेपाली नागरिकताको प्रकार, मौजुदा कानुन, नागरिकता प्रदान गर्ने प्रक्रिया, देखा पर्ने समस्या, मुद्दाका सन्दर्भहरू र नागरिकता दिने–लिने दुबै पक्षका लागि प्रचलित कानुनी सजायबारे जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले साइबर अपराध, लागुऔषध सम्बन्धी अपराध तथा अन्य आपराधिक क्रियाकलापहरूबारे प्रस्ट पार्दै नागरिकमा चेतना जगाउनुपर्ने आवश्यकता औंल्याए। उनले पछिल्लो समय बढ्दो डिजिटल अपराधप्रति सतर्क रहन आग्रह गरे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुरदर्शन श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले नागरिक सेवाको प्रवाह, पत्रकार–प्रशासन समन्वय, तथा जिल्लामा भएका गतिविधिहरूको प्रभावबारे आ–आफ्ना धारणा राखेका थिए।

प्रशासन कार्यालयका अनुसार गएको वर्ष ९ हजार २ सय ५९ नयाँ नागरिकता जारी गरिएको छ भने ९ हजार ८ सय ४५ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ। ७१ जनाले नागरिकता परित्याग गरेका छन् भने ६७ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ। यस्तै, १० वटा नागरिकता रद्द गरिएको र २ जनालाई अंगीकृत नागरिकता प्रदान गरिएको तथ्याङ्क प्रस्तुत गरिएको छ।

वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने यस कार्यक्रमले प्रशासनिक पारदर्शिता, जनचेतना अभिवृद्धि र नागरिक–प्रशासन सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। 


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments