बनेपामा नेपाल जेसीज क्षेत्र ‘ग’ को दुईदिने सम्मेलन हुँदै
बनेपा - नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन–२०२६ को सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा काभ्रे लेडी जेसीजले जनाएको छ। ‘सक्रिय नागरिकको माध्यमबाट सकारात्मक परिवर्तन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै महिला नेतृत्व विकासमा सक्रिय काभ्रे लेडी जेसीजले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको हो।
ऐतिहासिक तथा सांस्कृतिक नगरी बनेपामा असोज २ र ३ गते आयोजना हुने सम्मेलन स्मार्ट पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुनेछ। नेपाल जेसीजको वार्षिक कार्यतालिका तथा वैधानिक व्यवस्थाअनुसार हुने सम्मेलनमा नेपाल जेसीजअन्तर्गतका ४ वटै क्षेत्र तथा १८६ शाखाबाट ६ सयभन्दा बढी युवा प्रतिनिधिको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।
सम्मेलनका विषयमा आयोजित पत्रकार सम्मेलनमा काभ्रे जेसीजका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले काभ्रेमा दोस्रो पटक एरिया कन्फरेन्स आयोजना हुन लागेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सम्मेलनले काभ्रेको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विदेशी पर्यटकमाझ समेत नेपाल सुरक्षित रहेको सन्देश पुर्याउन सहयोग पुग्ने धारणा राख्नुभयो।
पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक सुमित्रा श्रेष्ठ बादेले विज्ञप्ति वाचन गर्दै सम्मेलनका कार्यक्रम तथा तयारीबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको अध्यक्षता काभ्रे लेडी जेसीजकी अध्यक्ष मनिका शाक्यले गर्नुभएको थियो।
यस वर्ष नेपाल जेसीजले अघि सारेको ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत नेतृत्व विकास, युवा सशक्तीकरण, सामाजिक उत्तरदायित्व र सकारात्मक रूपान्तरणलाई सम्मेलनका प्रमुख विषय बनाइएको छ। ‘Aim, Act, Achieve’ को अवधारणामार्फत युवालाई लक्ष्य निर्धारण, प्रभावकारी कार्यान्वयन र परिणाम हासिल गर्ने संस्कारतर्फ प्रेरित गर्ने उद्देश्य सम्मेलनको रहेको आयोजकले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न सेमिनार, वक्तृत्वकला प्रतियोगिता, प्रकरण गोष्ठी तथा नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गरिने जेसीज सिनेटर एवं २०२३ का अध्यक्ष विकास मानन्धरले जानकारी दिनुभयो। विषम परिस्थितिमा समेत वार्षिक कार्ययोजनाअनुसार जेसीजका गतिविधि निरन्तर सञ्चालन हुँदै आएको उल्लेख गर्दै उहाँले कोभिड–१९, भूकम्पलगायतका विपद्का समयमा समेत जेसीजले पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो।
सम्मेलनमा मोटिभेसन, डिजिटल मार्केटिङमा जेनेरेटिभ एआई, वित्तीय साक्षरता तथा लगानी, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलगायतका विषयमा कार्यक्रम सञ्चालन गरिनेछ। सम्मेलनमा संसदीय बैठक प्रणालीअनुसार सभा सञ्चालन गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।
सम्मेलनको दोस्रो दिन असोज ३ गते बनेपाको ऐतिहासिक लायकु दरबार क्षेत्रदेखि चण्डेश्वरी मन्दिर प्राङ्गणसम्म परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित ‘शान्ति पदयात्रा’ आयोजना गरिनेछ। पदयात्रामार्फत बनेपाको पर्यटन, संस्कृति, स्थानीय पहिचान तथा अतिथि सत्कारलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ।
भोटेकोशी क्षेत्रमा भएको बाढीपहिरोजस्ता प्राकृतिक विपद्को संवेदनशील अवस्थालाई समेत मध्यनजर गर्दै सम्मेलनलाई मानवीय सेवासँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ। जेसीजको मूल दर्शन ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनाअनुसार विपद् व्यवस्थापन, पीडितको पुनर्स्थापना तथा समुदायमा सकारात्मक परिवर्तनका लागि युवाको सक्रिय सहभागिता बढाउने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा काभ्रे जेसीजका अध्यक्ष स्वरूप शाक्य, काभ्रे जेसीज, काभ्रे लेडी जेसीज तथा जुनियर जेसीजका अध्यक्षहरू, जेसीजका क्षेत्रगत अध्यक्ष तथा प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन काभ्रे लेडी जेसीजकी पूर्वअध्यक्ष देवकी आचार्यले गर्नुभएको थियो।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।